• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
  • 06:16:37
  • ON AIR Kayakairan
  • UP NEXTNepali Bahas

फेवातालमा राष्ट्रिय झण्डाकाे हिसाबकिताब

पोस्टकार्ड वा फोटोहरुमा धेरै देखिन्छ ः फेवातालमा माछापुच्छ्रेका प्रतिविम्ब । धेरै स्वदेशी तथा विदेशी पनि त्यही प्रतिविम्ब खोज्दै पोखरा आउँछन् ।

धेरै पर्यटक फेवातालमा फोेटोको जस्तै दृश्य नपाउँदा भने खिस्स पर्छन् । किनभने ड्यामसाइडको एकछेउबाट मात्र त्यो दृश्य देख्न सकिन्थ्यो । जुन सर्वसाधारणका लागि खुला थिएन ।

क्षेत्रीय सिँचाइ कार्यालयको परिसरबाट मात्रै फेवातालमा माछापुच्छ्रेको प्रतिविम्ब देख्न सकिन्छ । अब सो स्थानमा पार्क बनाउने र सबै सर्वसाधारणका लागि खुल्ला गरी पर्यटक महानगरले नीति लिएको छ । त्यतिमात्रै नभएर त्यहाँ राष्ट्रिय झण्डा खडा गरेर फेवातालमा माछापुच्छ्रेसँगै नेपाली झण्डाको समेत प्रतिविम्ब देखाउने भएको छ महानगरले । पार्क बनाउन १ करोड रुपैयाँ अनुमान गरिएको छ । जसमा प्रदेश सरकारको आधा लगानी हुनेछ ।

घाम दक्षिण भएको बेला सजिलै हिमाल र झण्डाको छायाँ देख्न सकिने महानगरपालिकाका इन्जिनियर किसानसिंह गुरुङ बताउँछन् । ‘दिउँसो घाम र छाँयाको दिशा नमिल्ने भएकाले नदेखिन सक्छ तर दक्षिण घाम भएको बेला सजिलै प्रतिविम्ब देखिन्छ,’ उनी भन्छन् । उनका अनुसार झण्डा ठड्याउँदा वातावरणलाई समेत कुनै असर पर्ने छैन ।

फेवातालको किनारमा ठडिने सो झण्डाको उचाइ ८० फिट अर्थात २४ मिटरको हुनेछ । झण्डा टिकाउ गराइराख्न कुन खालको प्रयोग गर्ने सल्लाह भइरहेको इन्जिनियर गुरुङ सुनाउँछन् । उनी भन्छन्, ‘सिलिकन कपडा प्रयोग गर्ने या बेयरिङ राखेर फर्फराउने फिक्स वाला कुन बनाउने सो को छलफल चलिरहेको छ ।’ गुरुङका अनुसार झण्डाका लागि स्टिलको खम्बा प्रयोग गरिने छ ।

झण्डा राख्दा वातावरणीय पर्यावरणमा समेत ध्यान दिइने भएको छ । कुनै रुख काटिने छैनन्, बरु जगेर्ना गरिने छ । इन्जिनियर गुरुङ योजना सुनाउँछन्, ‘रुखमै अडेस लगाएर हिमाल र झण्डाको प्रतिविम्ब हेर्न मिल्छ, रुखको तल जरामै बसेर हेर्ने बन्छ पार्क, यसो गर्दा रुख पनि जोगिइन्छ र दृश्य पनि हेर्न मिल्छ ।’ रुखभन्दा झण्डा अग्लो नहुने भएकाले कुनै पनि प्रकारको दुर्घटना नहुनेसमेत उनले विश्वस्त गराए ।

ड्यामसाइडमा पार्क बनाउने परिकल्पना भने महानगरको होइन, ड्यामसाइड क्लबको हो । क्लबको परिकल्पनालाई महानगरले सहयोग मात्रै गरेको हो । महानगरको ड्यामसाइडमा पार्क बनाउने र झण्डा गाड्ने सपनामा प्रदेश सरकारले समेत सहयोग गर्ने भएको छ । ‘सबै काम महानगरले गर्ने छ, प्रदेश सरकारले महानगरलाई ५० प्रतिशत खर्च बेहोर्ने गरी सहयोग गर्ने छ,’ सरकारका प्रवक्ता रामशरण बस्नेतले भने ।

झण्डा राख्ने स्थान छनोट र डिजाइन इन्जिनियर किसानसिंह गुरुङले गरेका हुन् । साजसज्जा अर्थात आर्किटेक्ट सोफिया गुरुङको जिम्मामा छ । डिजाइन र स्टिमेट भएर पनि महानगरले पास गरी प्रदेश सरकारलाई बुझाइसकेको छ । ‘सबै काम योजना अनुरुप नै भयो भने ६ महिनामै काम सकिन्छ, होइन भने बढीमा १ वर्षभित्रै काम सकिन्छ,’ इन्जिनियर गुरुङ भन्छन् ।

पार्कमा जान मिल्ने गरी पुल बनाइने छ । पार्क र झण्डालाई सुरक्षित बनाउन ठूलो कम्पाउन्ड वाल बनाइनेछ । पार्कमा सिसाले बनेको ठूलो बहुउद्देशीय हलसमेत निर्माण गरिने गुरुङ सुनाउँछन् । ‘त्यहाँ पानी खान ठूलो ट्यांकीसहित सेफ्टी ट्यांकी पनि बनाइनेछ,’ उनी भन्छन् । १ करोड रुपैयाँमा तयार हुन लागेका पार्कमा ८४ लाख २३ हजार खर्चमा ५० लाग्ने छ १५ प्रतिशत भ्याट र कन्टिन्जेन्सी खर्च लाग्ने गुरुङले सुनाए ।

कति छ त खर्च स्टिमेट ?
शीर्षक अनुमानित रकम
कम्पाउन्ड वाल १४ लाख १७ हजार रुपैयाँ
भूभाग सम्याउने र सौन्दर्यकरण गर्न २७ लाख ३३ हजार रुपैयाँ
पानी तथा सेफ्टी ट्यांकी ५ लाख ४९ हजार रुपैयाँ
नहरमाथि पुल ८ लाख २० हजार रुपैयाँ
बहुउद्देशीय हल १५ लाख ६१ हजार रुपैयाँ
झण्डा १३ लाख २२ हजार रुपैयाँ
भ्याट र कन्टिन्जेन्सी गरी जम्मा १ करोड रुपैयाँ

समाधान दैनिकको वेभसाइट समाधानन्यूजटडकमबाट । 

प्रतिकृया दिनुहोस