• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
  • 06:06:20
  • ON AIR Kayakairan
  • UP NEXTNepali Bahas

शुक्लागण्डकीमा भएको वक्तृत्वकलामा अरनिकोकी रचना प्रथम

दुलेगौंडा, ३० भदौ । नेपाल प्रहरी स्कुल, बेलचौतारा तनहुँले आयोजना गरेको अन्तर मावि स्तरीय अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा अरनिको सेकण्डरी वोर्डिङ स्कुल दुलेगौंडा प्रथम भएको छ । 


राष्ट्रिय वाल दिवसको अवसरमा आयोजना गरिएको सो प्रतियोगितामा शुक्लागण्डकी–३ मा अवस्थित अरनिकोकी रचना श्रेष्ठ प्रथम भएकी हुन् । यसैगरी नेपाल प्रहरी स्कुलका अशोक थापा द्धितीय  र सत्यवती मावि दमौलीका सम्पन्न गौतम तृतीय हुन सफल भए । पञ्चमुनिदेव मावि दुलेगौंका अनिश भट्टराई सान्त्वना भए । प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः २ हजार ५ सय, २ हजार, १ हजार ५ सय र १ हजार रुपैया नगद र प्रमाणपत्र प्राप्त गरे । 


सो अवसरमा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले देशको भविष्य विद्यार्थीसँग जोडिएकाले अध्ययनमा जोड दिन आग्रह गरे । ‘हेलन केलर अपाङ्गता हुन, तर उनी विश्वमा परिचित भईन, उनीजस्तै धेरै व्यक्तिले देशको नाम राख्न सफल छन्,’ उनले अगाडी भने–‘हामी त शारिरिक रुपमा तन्दुरुस्त छौं, उनीहरु सरह जान सक्छौ ।’ उनले अनुशासन विना गन्तव्यमा पुग्न नसकिने उल्लेख गरे । मेयर गुरुङले अबको शिक्षा प्राविधिक किसिमको हुनुपर्ने बताए । ‘पुरानो शिक्षाले शिक्षित वेरोजगार बनाएको छ, अब समय सुहाउदो शिक्षा लागु गर्नुपर्दछ, यसका लागि नगरपालिका सहयोग गर्न तयार छ’ उनले भने । 


दङ्गा नियन्त्रण प्रहरी गण गण्डकी प्रदेशका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताए । विद्यालयका प्रिन्सीपल सुर्य बहादुर केसीले विभिन्न अवसरमा आयोजना हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीको अतिरिक्त क्षमता वृद्धि गर्ने उल्लेख गरे । कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक महेश्वर बस्नेत, निर्णायक समितिका संयोजक दिल बहादुर रानाभाट लगायतले बाल दिवसको महत्वबारे बोलेका थिए । मेरो सपनाको विद्यालय शिर्षकमा गरिएको प्रतियोगितामा जिल्लाका १२ विद्यालयका २५ जनाको सहभागिता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस