• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
  • 07:20:08
  • ON AIR BBC Nepali Sewa Bihani Sewa
  • UP NEXTSukhad Bihani

डकुमेन्ट्री फिल्म ‘कौराहा’ प्रर्दशन हुदैँ

बिनोद ढुंगाना
दुलेगौँडा(तनहुँ), कार्तिक १४ । मगर संस्कृतीमा आधरित नेपाली भाषाको डकुमेन्ट्री फिल्म ‘कौराहा’ प्रर्दशन हुने भएको छ । मौलिक कौराहा संरक्षण समिति नेपालले निर्माण गरेको फिल्मको पहिलो प्रर्दशन शनिबार साँझ दमौलीमा हुने निर्माण पक्षले जनाएको छ । मौलिक कौराहा संरक्षण समिति तनहुँले फिल्मको प्रर्दशन गर्न लागेको हो । 
तनहुँको ऋषिङबाट कौराहा नाँचको सस्कृति शुरु भएको कथन छ । मगर समुदायमा नचाइने कौराहा पछिल्लो समय नेपाली लोकसंगीतको एउटा हिस्सा बनेको छ । तर मौलिकता झल्काउने कौराहा लोप हुने अवस्थामा छ । मौलिक कौराहाको संरक्षणका लागी बनाईएको डकुमेन्ट्रि फिल्म ‘कौराहा’ उद्गमस्थल ऋषिङ गाउँपालिकाको माझकोट र आँपथोकमा छायांकन गरिएको हो ।


सञ्चारकर्मी हर्क आलेको लेखन तथा निर्देशनमा बनेको फिल्मको मुख्य भुमिकामा रविन्द्र थापा मगर र सविता राना मगर (नाना) रहेका छन् । पवन राना मगर, पदम थापा मगर, राम आले, सरुना वानटाङ्गे मगर, सृजना आले मगर, सोनाम आले मगर लगायतले अभिनय गरेका छन् । नविन केसीको छायांकन, नेत्र गुरुङको सम्पादन रहेको फिल्ममा १८ लाख लगानी गरिएको छ । 


‘युवापुस्ता पश्चिमा संस्कृतिमा ढल्किदा मौलिक र स्थानिय संस्कृति लोप भएका छन्’,  निर्देशक आलेले भने, ‘आफ्नोपन र पहिचान बोकेको संस्कृति संरक्षणमा कौराहा निर्माण गरिएको हो ।’  ‘प्रविधिको विस्तारले स्टुडियोमा रेकर्ड भएका डिजिटल कौराहा बजारमा धेरै आउँछ ।  खैजडी र झर्राको तालमा गाईने परम्परागत कौराहा लोप हुदै गएको छ । पुरानै शैलीको कौराहालाई जिवन्त आवश्यक छ’, उनले भने । पछिल्लो पुस्ताले फिल्मबाट मौलिक कौराहाको अध्ययन गर्न सक्ने आलेको भनाई छ ।  


‘फिल्ममा रेकर्ड गरिएका गीतसंगीत समावेश छैन । प्रत्यक्ष गाईएको कौराहा समावेश छ’, फिल्मका कलाकार एवंम गायक पदम थापा मगरले भने । उनका अनुसार कौराहा गाउन÷नचाउँन मगर समुदायका तरुनीले तन्नेरीलाई निम्तो दिने गर्दछन् । निम्तो स्विकार गरी रातको समय तरुनीहरुले बोलाएको गाउँमा पुगेर तन्नेरीहरु कौराहा नचाउने गर्दछन् । रातको समयमा गएका तन्नेरीहरु भोलिपल्ट रातको समयमै फर्कने प्रचलन छ । कौराहा गाउँदा देवीदेवतीको नाम लिएर सुरु गरिने गायक मगरले बताए । उनले भने, ‘कौराहा गाउँदा देवीदेवतालाई सम्झिएको अन्तराबाट सुरु गरिन्छ । विस्तारै मायाँ पिरतीका गीत गाउँदै बिछोडका गीत गाएर छुट्टिन्छन् ।’   


‘कौराहामा एउटै टुक्कालाई धेरैपटक दोहो¥याइन्छ । नाच्नलाई सजिलो होस भनेर पटकपटक दोहो¥याइएको हो’ गायक थापाले भने । कौराहा नाच्दा केटाहरुले कछाड, भोटो र  शिरमा टोपी लगाउँछन् । केटीहरुले मखमलको चोली, घलेक, पोते, पहेँलो पटुका, छिटको गुन्यु र काँधमा पछ्यौरी राख्ने गर्दछन् ।


कौराहालाई जिल्लाका सबै स्थानिय तहमा प्रर्दशन गर्ने निर्माण संयोजक तारामाया थापा मगरले जनाकारी दिइन् । ‘मगर बाहुल्य जिल्लामा पनि च्यारीटी शो मार्फत फिल्म देखाइनेछ’, मगरले भनिन् । 
 

प्रतिकृया दिनुहोस