• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
  • 09:20:20
  • ON AIR shruti Sambeg
  • UP NEXTShuklagandaki Samachar

भिमादको इन्द्र झरनामा क्यानोनिङको सफल परिक्षण

दुलेगौंडा, ३० कार्तीक । तनहुँको भिमाद–९ पाथर्दीमा साहसिक पर्यटकको लागि नयाँ गन्तव्य थपिएको छ । पाथर्दी र खुर्लेङटोको मध्य भाग भएर बग्ने फोक्सिङ खोलामा रहेको इन्द्र झरनामा क्यानोनिङको सफल परिक्षण भएसँगै नयाँ गन्तव्य थपिएको हो । 


ड्रिमल्यान्ड ल्वाङ क्यानोनिङ, कास्कीका प्रबन्ध निर्देशक बोनी गुरुङको नेतृत्वमा आएको ४ सदस्यीय टोलीले सो झरनामा क्यानोनिङको सफल परिक्षण गरेको हो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको आग्रहमा परिक्षण गरिएको भिमाद–९, का अध्यक्ष इमान बहादुर थापाले जानकारी दिए । 


४० मिटर अग्लो झरना क्यानोनिङका लागी उपयुक्त रहेको ड्रिमल्यान्ड ल्वाङ क्यानोनिङ, ल्वाङ, कास्कीका प्रबन्ध निर्देशक गुरुङले बताए । इन्द्र झरनाको आडमा रहेको भिरमा अर्को झरना पनि बनाउन सकिने उनको भनाई छ । ‘माथीबाट कुलो बनाएर पानी भिरबाट खसाल्न सकिन्छ,’ उनले भने– ‘इन्द्र झरना भन्दा यसबाट अझ साहसिक क्यानोनिङकालागि उपयुक्त हुन्छ ।’ यो झरना ५० मिटर अग्लो बन्ने छ । 


पृथ्वीराजमार्गको खैरेनीटार बजारदेखि करिव २३ किलोमिटरको दुरीमा रहेको झरना करिव १ घण्टा यात्रापछि पुग्न सकिन्छ । साथै भिमादको रातेपहराको बाटो १७ किलोमिटर पर रहेको बैकल्पिक बाटो पनि प्रयोग गर्न सकिने छ ।   


भिमाद–९ का अध्यक्ष थापाले  परिक्षण सफल भएको खुसी व्यक्त गरे । अब हाम्रो वडामा नयाँ साहसिक गन्तव्य थपिएको छ उनले अगाडी भने– यसलाई प्राथमिकता दिई पर्यटन प्रवद्धनमा हामी लाग्नेछौं । पर्यटकलाई इन्द्र झरनासम्म ल्याउन पुर्वाधार निर्माणमा जोड दिने उनको भनाई छ । ‘पुर्वाधार तयारी नगरी यहाँ पर्याप्त पर्यटक ल्याउन सकिदैन् । क्यानोनिङलाई दिर्घकालसम्म व्यवस्थित गर्न सम्भावाना र चुनौतीको विश्लेषण गरी योजना तयार पार्दै छौँ’, उनले भने, ‘ यसका लागी नगर, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरिने छ ।’ सोहि वडामा रहेको धन्धुरको चारतले सिद्ध गुफाबाट झरनासम्म पुग्न  पदमार्ग  निर्माण गर्ने वडा अध्यक्ष थापाले जानकारी दिए । 


युवा कृषक शिव कुमार आलेले क्यानोनिङसँगै  खेर गइरहेको पानीको सदुपयोग गर्नुपर्नेमा जोड दिए । ‘पानी र माटो परिक्षण गरि माछापालन र सिचाइको रुपमा प्रयोग गर्ने हो भने स्थानीयको आम्दानी बढ्छ,’ उनले थपेर्–गाउँघरमै उत्पादित सामग्रीले होमस्टे सञ्चालन गर्न सकिन्छ ।’ यहाँ आउने पर्यटकलाई केहि दिन गाउँमै राख्ने वातावरण सृजना गर्नुपर्ने उनले उल्लेख गरे । वोयर जातको बाख्रा पालनको नमुना स्रोत केन्द्रको रुपमा विकास भएको पाथर्दीमा क्यानोेनिङले  थप सम्भावनाको ढोका खुलेको उनको भनाई छ । अब क्यानोेनिङको व्यवस्थापनमा सरोकारवालाको नजर पुग्नुपर्ने आलेले बताए । 


भिमाद नगरपालिकाका प्रमुख मेख बहादुर थापाले नगरको पर्यटन प्रवद्धनको लागि करिव डेढ करोड बजेट विनियोजन गरेको जानकारी दिए । ‘अहिले हामीले विभिन्न वडामा खण्डिक्रित तरिकाले बजेट छुट्यायौं’ उनले भने ‘अब हामी नगरमा एकिकृत गरि यस क्षेत्रको लागि बजेट ल्याउनुपर्ने ठानेका छौं ।’ शिक्षा, सडक, विद्युतसँगै पर्यटनलाईसँगै लैजाने नगरको योजना रहेको उनले सुनाए । ‘नगरको चित्र रेखांकन गरेर सम्भावनायुक्त क्षेत्रलाई हामी प्राथमिकता दिन्छौं’ उनले भने ।  साँस्कृतिक, प्राकृतिक दुई वर्ष अघि तनहुँकै प्रसिद्ध छाब्दी वाराही मन्दिर नजिकैको झरनामा पनि क्यानोनिङको सफल परिक्षण भएर सञ्चालनमा आएको थियो । तर पर्याप्त प्रचारप्रसार हुन सकेको छैन् । 
 

प्रतिकृया दिनुहोस