• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 03:40:44
  • ON AIR Filmy Parda
  • UP NEXTYour Choice

प्राविधिक विश्वविद्यालयको लागि शुक्लागण्डकीको जग्गा हेर्दै प्रदेश सरकार

दुलेगौडा, ३ मंसिर । तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रदेशस्तरीय प्राविधिक विश्वविद्यालयको लागि नगरका विभिन्न जग्गाको आइतवार अवलोकन गरिएको छ । आइतवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा आएको टोलीले विभिन्न क्षेत्रको जग्गा अवलोकन गरेको हो । 

टोलीमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, सामाजिक विकास मन्त्री नरदेवी पुन, प्रदेश सांसदहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जनप्रतिनिधी लगायतको सहभागिता थियो । 
     
प्राडा गणेशमान गुरुङको संयोजकत्वमा विश्वविद्यालय स्थापना अध्ययन गर्न गठित कार्यदलले  बेलचौतारामा अवस्थित भानुभक्त बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउन सिफारिस गरेको थियो । सोहि कार्यदलको आधारमा मुख्यमन्त्री गुरुङसहितको टिम अवलोकन गर्न आएको हो । ‘हामीलाई यस क्षेत्रमा स्थापना गर्न उपुक्त छ भनि  कार्यदलले प्रतिवेदन बुझाएको थियो, मुख्यमन्त्री गुरुङले भने–‘पोखरा र राजमार्गबाट नजिकै पर्ने भएकाले यहाँ विश्वविद्यालयको लागि आवश्यक जग्गा अवलोकन र छलफलका लागि आएका हौं ।’ पोखरा अब सानो भइसकेको बताउदै उनले आसपासका क्षेत्रमा यस्ता विश्वविद्यालय स्थापना गर्नुपर्ने बताए । जग्गा प्राप्तीपछि ऐन बनाउनु छ, केन्द्रिय सरकारसँग छलफल गर्नु छ हामी अहिले प्रारम्भिक चरणमा छौं, उनले प्रष्ट पारे । ‘अब कुश्मा, शुक्लागण्डकी, मध्यनेपाल लगायतका नगरपालिका ‘स्याटलाइट एरिया’ हुन,’ उनले थपे–‘सडक चाख्ला बनाउने काम शुरु हुदै छ, यी क्षेत्र नजिकै पर्छन, त्यसैले शुक्लगण्डकीले यो शौभाग्य पाएको छ ।’ 

प्रदेशस्तरको प्राविधिक विश्वविद्यालयमा करिव ८० प्रतिशत प्राविधिक शिक्षाको अध्ययन हुने मुख्यमन्त्री गुरुङले उल्लेख गरे । ‘एक महिना भित्र म स्विजरल्याण्ड र फिनल्याण्ड जाने तयारी छ, उनीहरुले प्राविधिक विश्वविद्यालयको लागि सहयोग गर्ने वचन दिएका छन, त्यसैले जग्गाको विषय चाडो टुङ्गो लगाउनुपर्छ,’ उनले भने ।  

भानुभक्त बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्राडा चन्द्र बहादुर थापाले क्याम्पस भन्दा अन्य ठाउँमा पनि उपयुक्त जग्गा भएको बताए । ‘यस क्षेत्रको जग्गा संरक्षणमा स्थानीयहरुको महत्वपूर्ण भूमिका छ, सेती गंगा र क्याम्पस चन्दा संकलन गरि यत्तिको बनाएका हौं’ उनले भने–क्याम्पसलाई पनि अस्पतालकै हालतमा पु¥याउने हो भने हामी दिदैनौं,’ उनले भने । 

स्थानीय वि.स. २०४४ सालमा स्थापित सो क्याम्पसमा स्नातक तहमा हाल ३ सय ६५ विद्यार्थी अध्ययनरत छन् । स्नातक तहमा वाणिज्य र शिक्षा शंकायमा अध्यापन भइरहेको क्याम्पस प्रमुख रमेश अधिकारीले जानकारी दिए । स्नाकोत्तर तहमा भने विद्यार्थी भर्ना नभएका कारण अध्यापन हुन सकेको छैन् । क्याम्पसको नाममा २ सय ५९ रोपनी जग्गा रहेको छ  । साथै  क्याम्पसको आम्दानीको लागि १ सय रोपनी जग्गा भाडामा दिएको क्याम्पसले जनाएको छ ।
 
‘विश्वविद्यालय भन्दा पनि यहाँ शिक्षाको खाँचो छ, प्राविधिक शिक्षा र जनशक्ति पठाउनुहोसँ हामी आफै कक्षा सञ्चालन गर्न सक्षम छौं, उनले भने–‘लेखनाथमा विश्वविद्यालय छ, कृतिपुरमा पनि विश्वविद्यालय छ, के त्याहाँका स्थानीयहरु लाभान्वित भएका छन् त ? के त्याहाँका सबैले पढेका छन त ?’ उनले विश्वविद्यालय ल्याउने बित्तिकै ठूलो परिवर्तन हुन्छ भन्नु गलत प्रचार मात्र भएको दाबी गरे ।

सो अवसरमा जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र मातहत रहेको ७ सय रोपनी क्षेत्रफलको जग्गा, भानुभक्त क्याम्पसको २ सय ५९ रोपनी र वडा नं. ९ स्थित घारीको जग्गा अवलोकन गरिएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस