• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
  • 03:42:15
  • ON AIR
  • UP NEXTBhakti Darshan

आज ठूलो एकादशी, सेती नदि किनारमा मेला

दुलेगौंडा, ३ मंसिर । आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी । यस दिन हिन्दू धर्मावलम्बीहरु भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउँछन् ।


असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरुले तुलसीको व्रत गरी पूजा गर्दछन् । हरिशयनी एकादशीका दिन घर घर रहेका मठमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा यस दिन गाईको गोबर र रातो माटोले पोती सिङ्गारेर फूल मालाले सजाएर तुलसी विवाह गर्ने परम्परा पनि छ ।


तुलसी वैज्ञानिक रूपमा पनि अत्यन्त लाभदायक बनस्पती मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुने मानिन्छ । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ । अन्न खान नहुने मान्यताका कारण यस दिन सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार खाने गरिन्छ । 


शुक्लागण्डकी नगरपालिका र भिमादमा सेती नदि किनारमा मेला लागेको छ । अहिले सेती नदिमा स्नान गर्नेको भिड लागेको छ । गए राति धार्मिक अनुष्ठानका साथ भगवान सत्यनाराणको पूजा गरी बत्ति (मादी) बाली, बावियोको डोरीमा फूल राखेर बनाइएको तोरणलाई सेति नदीमाथि टाग्ने र बालिएको बत्ति (मादी) सेलाउने परम्परा रहिआएको छ । 
काठमाडौंको बुढानीलकण्ठका साथै उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचँगुनारायण र विशंखुनारायणलगायत देशभरका विष्णु मन्दिरहरुमा विशेष मेला लागेको छ ।
 

प्रतिकृया दिनुहोस