शुक्लागण्डकीमा भूमिसम्बन्धी सेवा प्रवाह गर्ने तयारीलाई तीव्रता
दुलेगौंडा, १३ साउन ।
शुक्लागण्डकी नगरपालिकाले आफ्नै क्षेत्रबाट भूमिसम्बन्धी सेवा प्रवाह गर्ने तयारीलाई तीव्रता दिएको छ । सेवा सञ्चालनका लागि उपयुक्त स्थान छनोटकालागि नगरपालिकाले बुधबार सरोकारवालासँग छलफल गरेको छ ।
राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा अन्य सरोकारवालाको कार्यक्रममा सहभागिता रहेको नगर प्रमुख कृष्णराज पण्डितले जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकका अनुसार बैठकमा प्राप्त सुझावका आधारमा उपयुक्त स्थान निर्धारण गरी कार्यालय स्थापना प्रक्रिया अगाडि बढाइनेछ । पूर्वमन्त्री तथा संविधानसभा सदस्य आशा कोइराला र गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महतलगायतका नेताहरूले नगरपालिकाभित्रको परिसरमा भूमिसम्बन्धी सेवा सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिएका थिए । अन्य सहभागीहरूले झरौटा तथा ढोरफिर्दी क्षेत्रलाई समेत नागरिकको पहुँचका दृष्टिले उपयुक्त हुने भन्दै ती स्थानमध्ये कुनै एक स्थानमा कार्यालय स्थापना गर्न सुझाव दिए । नगरपालिकाले सरोकारवालाबाट प्राप्त सुझावहरूको अध्ययन तथा आवश्यक छलफलपछि उपयुक्त स्थान टुङ्गो लगाई भूमिसम्बन्धी सेवा कार्यालय स्थापना गर्ने जनाएको छ । चालु आर्थिक वर्षभित्रै कार्यालय स्थापना गरी सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ ।









प्रतिकृया दिनुहोस