च्यवनधाममा भदौको पहिलो साता शिव महिमा बोलबम धार्मिक महोत्सव हुदै
दुलेगौंडा, १७ साउन । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा भदौको पहिलो साता शिव महिमा बोलबम धार्मिक महोत्सव हुदै छ । अघिल्ला वर्षहरुमा साउन महिनामै महोत्सव हुदै आएकोमा यस पटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गर्न लागिएको धामका अध्यक्ष होमनाथ लम्साल अर्जुनले जानकारी दिए । उनका अनुसार भदौ १ देखि ८ गतेसम्म धार्मिक महोत्सव सञ्चालन हुने छ । धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आँचल बसेलले दैनिक धार्मिक प्रवचन गर्ने छिन् । १० वर्षकै उमेरमा संस्कृत श्लोक, पुराण वाचन र गायनमा चर्चा कमाएकी उनको उपस्थितिले यस पटक थप आकर्षण हुने लम्सालले बताए । धार्मिक महोत्सवमा दैनिक हवन, रुद्री, पाठ परायणसहित संगितमय कथा प्रवचन, पितृ संकल्प, ग्रहशान्ती, तुलादान लगायतका विभिन्न कार्य समावेश गरिएको छ ।
महोत्सवबाट बचेको रकमले धामले सञ्चालन गरेको गुरुकुल शिक्षालय र वडा नं. ९ स्थित गौं संरक्षण केन्द्रको एकिकृत विकासको लागि खर्चिने अध्यक्ष लम्सालले जानकारी दिए । धामले प्रत्येक वर्ष शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ । महोत्सवलाई व्यवस्थित रूपमा सम्पन्न गर्न ठाकुरप्रसाद शास्त्रीको संयोजकत्वमा मूल समारोह समिति तथा विभिन्न २५ उपसमिति गठन गरेको छ ।









प्रतिकृया दिनुहोस