• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 02:00:29
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTDifferent songs

प्राकृतिक स्रोतमा आधारित विकास कार्यक्रम ल्याउन नगरपालिकालाई सुझाव

३० बैशाख/ दुलेगौंडा । शुुक्लागण्डकी सरोकार मञ्चले शनिबार शुक्लागण्डकी नगरपालिकाको सभाहलमा “सम्बृद्व शुक्लागण्डकीका लागि प्रकृतिमा आधारित विकास” विषयक कार्यशाला गरेको छ । स्थानीय सरकारको बजेट निर्माणमा सघाउन सुझाव प्रदान गर्ने उदेश्यले आयोजित कार्यशालामा जनप्रतिनिधि, कर्मचारी र विभिन्न क्षेत्रका नागरिक प्रतिनिधिहरुको सहभागिता थियो । 

 

कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै वातावरणविद् एकराज सिग्देलले उपलब्ध प्राकृतिक स्रोतको वातावरण अनुकुलित प्रयोग गरी विकासका योजना बनाउनुपर्ने उल्लेख गर्नुभयो । जल, जंगल र जमिन लगायतका प्राकृतिक सम्पदालाई नोक्सान नपु¥याई सीमान्त समुदायलाई हित हुनेगरी विकास नीति तर्जुमा गर्नुपर्नेमा कार्यपत्रमा जोड दिईएको छ । अन्नपुर्ण संरक्षण क्षेत्र र चितवन राष्ट्रिय निकुञ्जको विच तथा लुम्बिनी र पोखराको बाटोमा रहेको शुक्लागण्डकी नगरपालिका पर्यटनका लागि महत्वपुर्ण रहेको उल्लेख गर्दै सिग्देलले प्राकृतिक सम्पदा र स्थानीय उत्पादनमा आधारित पर्यटनका कार्यक्रममा बजेट विनियोजन गर्न सुझाव दिनुभयो ।

 

सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरुले समुहमा छलफल गरी सुझाव प्रस्तुत गर्नुभएको थियो । नीति तथा सुशासन समूहको तर्फबाट अधिवक्ता शिव रेग्मीले दिगो विकासको नीति अबलम्बन गर्न तथा पारदर्शीता अपनाउन सुझाव दिनुभयो । आर्थिक समूहको तर्फबाट उद्यमी हरि बहादुर खड्काले प्राकृतिक स्रोतमा आधारित उद्योगहरु संचालन गरी स्थानीय उत्पादन बढाउनुपर्ने बताउनुभयो ।  वातावरण समुहका तर्फबाट युवा अञ्जना पौडेलले फोहोर व्यवस्थापन, प्रदुषण न्युनीकरण र प्राकृतिक सम्पदाको स्वच्छतामा ध्यान दिन सुझाव दिनुभयो । सामाजिक समूहबाट डिल्लीराज लामिछानेले स्थानीय पाठ्यक्रममा वातावरणमैत्री क्रियाकलापलाई प्राथमिकताका साथ उल्लेख गर्नुपर्ने बताउनुभयो । भेटेरीनरी डाक्टर बालकुमार श्रेष्ठले कृषि र पशुपालनबाट रोजगारी सृजना गर्न सकिने भन्दै व्यवहारिक कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो । 

 

सहभागी युवा सुमन तिमिल्सिनाले किसानमैत्री आर्थिक नीति अबलम्बन गर्न सुझाव दिनुभयो । युवा अभियन्ता शंकर पन्तले चालू आर्थिक बर्षमा नगरपालिकाको आन्तरिक आयको लक्ष्य र उपलब्धि बिच फराकिलो खाडल रहेको भन्दै आगामी वर्ष निर्धारित लक्ष्य पूरा हुने गरि योजना बनाउन अनुरोध गर्नुभयो ।

 

 

कार्यक्रममा उपस्थित मुख्यमन्त्री कार्यालयका सचिव तुलसीराम भट्टराईले पर्यटन पुर्वाधारको निर्माणमा मौलिकता अपनाउनुपर्ने राय राख्नुभयो । उपसचिव राजन भट्टराईले फोहोरमैला व्यवस्थापन सम्बन्धी वालिङ नगरपालिकाको अनुभव साट्दै शुक्लागण्डकीमा चुनौतीपुूर्ण बनेको फोहोरमैलाको समस्या समाधानका लागि सहयोग गर्न आफू तत्पर भएको बताउनुभयो । 

 

सहभागीहरूको सुझाव पछि नगर उप प्रमुख खुम बहादुर वि.क. ले नगरको आर्थिक वर्ष २०८०/८१ को बजेटमा वातावरणीय पक्षलाई प्राथमिकतामा राखी १०% बजेट विनियोजन गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । नगरप्रमुख कृष्णराज पण्डीतले विज्ञहरूको राय लिएर बजेट निर्माणलाई पूर्णता प्रदान गर्ने बताउनुभयो । 

 

सहभागीलाई धन्यवाद् दिदैं मञ्चका अध्यक्ष सुरेश पौडेलले स्थानीय सरकार र विषयविज्ञहरू बिच सहजीकरण गरि वातावरणीय पक्षहरूमा सचेतता जगाउने उदेश्यले कार्यशाला गरिएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस