• बिहीबार १-२७-२०८१/Thursday 05-09-2024
  • 02:58:22
  • ON AIR
  • UP NEXTBhakti Darshan

स्थानीय उत्पादन बिक्रिका लागि ब्यास कोशेली घर संचालन


२९ फागुन, दमौली ।

स्थानीय उत्पादन बिक्रि गर्न दमौलीमा व्यास कोशेली घर संचालनमा ल्याईएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समिति तनहुँले पर्यटन तथा उद्योग कार्यालय तनहुँको प्राङ्गणमा व्यास कोशेली घर संचालन गरेको हो । कोशेली घरको सोमबार उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले तनहुँमा उत्पादन हुने वस्तुहरुको प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । कोशेली घरमा उद्यमी महिलाहरुले उत्पादन गरेका मस्यौरा, तान्द्रे कर्कलो, बेसार, मास, मस्याङ, तरुल, अदुवा, पिडाँलु, अचार, गिट्ठा, भ्याकुर, सिस्नो लगायतका खाद्य सामाग्री राखिएका छन् । यस्तै, तानबाट बुनिएका कपडा, झोला, उनीका सामाग्री, डोको, नाम्लो, पराल तथा जुटको गुन्द्री, निगालो र बाँसबाट बनेका हस्तकलाका सामाग्रीले कोशेली घरको आकर्षण बढाएका छन् । गाउँघरमा नै बनेका दैनिक प्रयोगमा आउने वस्तुहरुको बजारीकरण गरी उद्यमशीलता वृद्वी गर्ने उदेश्यले कोशेली घर संचालन गरिएको महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौलीले बताउनुभयो । घरेलु तथा साना उद्यम मार्फत् महिलाहरुलाई आर्थिक रुपले सबल र सक्षम बनाउन सकिने भन्दै गौलीले तनहुँका दश वटै पालिकामा स्थानीय उत्पादन विक्रि गर्ने कोशेली घरहरु हुनुपर्ने बताउनुभयो ।  
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा, घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्षहरु शोभा गुरुङ, सुर्य कडेंल, पर्यटन तथा उद्योग कार्यालय तनहूँका प्रमुख अविनास कुँवर, कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुल प्रसाद तिवारी लगायतले स्वदेशी सामान प्रयोग गर्नुपर्नेमा जोड दिदैं गुणस्तरीय उत्पादन गर्न उद्यमीहरुलाई सुझाव दिनुभयो । 
कोशेली घर उद्घाटन कार्यक्रमका अतिथिहरुलाई पिपलको पातबाट बनेको ब्याच, फुल तथा तरकारीबाट बनाईएको गुच्छाले स्वागत गरिएको थियो भने कोदोको सेल, उसिनेको मकै, मस्याङ, गुन्द्रुक र भट्टको अचार खाजाका रुपमा प्रदान गरिएको थियो । उद्घाटन कार्यक्रममा सहभागी १ सय जनाले कोशेली घरमा रहेका घरेलु उत्पादनका सामाग्रीहरु खरिद गरेको महिला उद्यमी समितिका सदस्य धनु रानाले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस