• मंगलबार ८-९-२०८३/Tuesday 11-24-2026
  • 06:11:31
  • ON AIR Nepal Khabar
  • UP NEXTLok Chautari

भिमादको भागरमा  निःशुल्क आँखा जाँच शिविर सम्पन्न

दुलेगौंडा, ७ मंसिर । तनहुँ इसाई समाजको आयोजनामा तनहुँको भिमाद नगरपालिका–८, भागरमा  निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । आर्क अफ होप आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बालज्योति प्राथमिक विद्यालयमा आयोजित शिविरबाट भागर तथा आसपासका क्षेत्रका १७० जना नागरिक लाभान्वित भएका छन् । शिविरमा आँखाको दृष्टि परीक्षणसँगै सुगर र प्रेसरसमेत जाँच गरिएको समाजका सदस्य एवं स्थानीय मानबहादुर क्षेत्रीले जानकारी दिनुभयो । शिविरमा ९० जनालाई चस्मा तथा १० जनाभन्दा बढीलाई आँखाको औषधि वितरण गरिएको उहाँले बताउनुभयो ।शिविरमा आर्क अफ होप आँखा अस्पताल पोखरामा कार्यरत फिलिपिनी वरिष्ठ दृष्टि विशेषज्ञ डा. रोनी, ब्राजिलियन डा. कार्लोस डी सिल्भा तथा इन्द्र अधिकारीसहित नौ जनाको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो । अस्पतालले इसाई समाज, विभिन्न विद्यालय तथा स्थानीय सरकारसँग सहकार्य गरी ग्रामीण क्षेत्रलाई लक्षित गरेर निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्दै आएको अस्पतालका निर्देशक पिटर गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार भागरमा आयोजित शिविर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको १९औँ शिविर हो । तनहुँ, कास्की र स्याङ्जाका विभिन्न स्थानमा सञ्चालन गरिएका शिविरमार्फत हालसम्म चार हजार पाँच सयभन्दा बढी नागरिक लाभान्वित भएका उहाँले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस
↑