ऋषिकुलका उत्पादनहरू पोखरा हर्बल होममा उपलब्ध हुने
पोखरा । ऋषिकुलका विभिन्न उत्पादनहरू पोखराको पोखरा हर्बल होममा उपलब्ध हुने भएका छन् । पोखरा हर्बल होमले केही समयदेखि ऋषिकुलका उत्पादनहरूको बिक्री गर्दै आएकोमा यही असोज १८ गते औपचारिक रूपमा बिक्री शुभारम्भ गर्न लागेको हो । पोखरा हर्बल होमका सञ्चालक कुमारप्रसाद बरालका अनुसार औपचारिक शुभारम्भ कार्यक्रममा ऋषिकुल कम्पनीका सञ्चालकहरूका साथै वरिष्ठ कन्सल्टेन्ट तथा आयुर्वेद विज्ञ डा. सबरी शाहको समेत उपस्थिति रहनेछ । कार्यक्रमका अवसरमा दीर्घरोग भएका व्यक्तिहरूले डा. शाहसँग जीवनशैली, खानपानलगायत विषयमा परामर्श लिन सक्ने बरालले बताए ।
बरालका अनुसार ऋषिकुल विगत ११ वर्षदेखि सञ्चालनमा रहेको परियोजना हो । कम्पनीले स्वास्थ्य तथा दैनिक उपभोगसँग सम्बन्धित विभिन्न अर्गानिक तथा पूरक आहारजन्य उत्पादनहरू बजारमा ल्याउँदै आएको उनको भनाइ छ । ऋषिकुलले करिब २ सय प्रकारका अर्गानिक उत्पादनमार्फत दैनिक उपभोगका सामग्री उपलब्ध गराउने लक्ष्य लिएको बरालले जानकारी दिए । उनका अनुसार कम्पनीका उत्पादनहरू जीवनशैली र स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले प्रयोग गरिँदै आएका छन् ।

पोखरा हर्बल होममा ऋषिकुलका उत्पादनसँगै विभिन्न आयुर्वेदिक सामग्री तथा उत्पादनहरू समेत उपलब्ध रहेको बरालले बताए । करिब दुई दशकदेखि ग्राहकको सेवामा रहेको पोखरा हर्बल होमले स्वास्थ्यसम्बन्धी सामग्री तथा आयुर्वेदिक उत्पादनलाई थप सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ऋषिकुलसँग सहकार्य गरेको जनाएको छ। औपचारिक शुभारम्भ कार्यक्रम असोज १८ गते आइतबार बिहान १० बजे पोखरा हर्बल होममा आयोजना हुने बताइएको छ।









प्रतिकृया दिनुहोस